अनौठो समाचार 

साउदी जेलमा रहेका थानेश्वरको नाममा ४५ लाख ब्लडमनी संकलन

चार वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका ३५ वर्षीया स्थानेश्वर भुसालको उद्धारको लागि चाहिने एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) संकलन भएको छ । आवश्यक रकम उपलब्ध भएकोले थप रकम संकलन नगर्न प्रवासी नेपाली समन्वय समितिले मंगलबार अपिल गरेको छ ।

मध्यबिन्दु–४, नवलपरासीका भुसालले ब्लडमनीको रकम तिर्न नसक्दा ६ फेब्रुअरी २०१४ देखि जेलमा छन् । समितिका अध्यक्ष कुलबहादुर कार्कीले आवश्यक रकम संकलन भएकोले चन्दा अभियान बन्द गरेको बताए । ‘४५ लाख रुपैयाँ मध्ये २३ लाख १५ हजार अभियानले सञ्चालन गरेको खातामा जम्मा भइसकेको छ,’ उनले भने,‘बाँकी २३ लाख २० हजार दिने प्रतिबद्धता भएबमोजिम खातामा जम्मा हुनेक्रम जारी छ ।’ भुसालको उद्धारका लागि गैरआवासीय नेपाली संघले १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । उनले अभियानको लागि प्रतिबद्धता भएको रकम यथाशीघ्र खातामा पठाइदिन अनुरोध गरेका छन् ।

२७ सेप्टेम्बर २०११ मा इनोभेटिक म्यानपावरबाट साउदी अरब गएका उनी साउदीमा गाडी चलाउँथे । ५ जुन २०१२ मा उनी गाडीसहित सडकमा थिए । ‘गाडी गुडेको थिएन । रोकिराखेको गाडीलाई पछाडिबाट एक भारतीय चालकले चलाएको गाडीले ठक्कर दियो ।’, स्थानेश्वर भन्छन्,‘मेरो गाडी हुत्तिएर अगाडि रोकिराखेको अर्को गाडीलाई ठक्कर दिन पुग्यो । त्यो दुर्घटनामा ठक्कर दिने भारतीय चालक इशम साहिब र ठक्कर खाने गाडीका चालक साउदी नागरिक रद जमान अलजदानी दुवैको ज्यान गयो ।’ जेद्दा प्रान्तमा अपराध हेर्ने न्यायालयका न्यायाधीश अब्दुलरहिम विन इब्राहिम अन्मुतेहेफले भुसाल र साहिब शतप्रतिशत दोषी रहेको फैसला गरिदिए । र, अलजदानीको परिवारलाई ३ लाख रियाल ब्लडमनी बुझाउन आदेश दिए । आदेशअनुसारको रकम दुई चालकका परिवारले आधाआधा जम्मा गर्नुपर्ने भयो ।

भुसाल परिवार त्यत्रो रकम बुझाउन सक्ने हैसियतमा नभएपछि प्रवासी नेपालीको सक्रियतामा चन्दा अभियान गत सेप्टेम्बर १० बाट सुरु गरेको थियो । नेपाली कन्सुलेटले अलजदानी परिवारलाई भेटेर ब्लडमनी मिनाहा गर्न आग्रह गरे पनि स्वीकार भएन । निजी कानुनमा परिवारलाई निर्णय गर्न छुट छ । तर, परिवारले अस्वीकार गरेपछि ब्लडमनी नबुझाएसम्म जेलमुक्त गर्न सकिन्न । भुसालका ६५ वर्षीया आमा यमकुमारीले अब छोरो स्वदेश फिर्न पाउनेप्रति खुसी भएकी छिन् ।
‘साउदी जाँदा छोराले बिहे गरेर गएको थियो । जेल परेको खबर आएपछि बुहारीले घर छाडिन्,’ उनले भनिन्, ‘हामी गरिब त्यत्रो पैसा तिर्न सक्दैनौं । जेलबाट छोराले रुँदै फोन गर्छ । मेरो हृदय छियाछिया हुन्छ । मेरो छोरोलाई छुटाउन देशविदेशबाट रकम उठ्यो । मेरो उहाँहरुलाई आशिष लागोस् ।’

अध्यक्ष कार्कीका अनुसार सबै रकम खातामा आइसकेपछि प्रक्रिया पुर्‍याएर दूतावास पठाइने छ ।

तस्बिर : साउदीमा चार वर्षदेखि जेल रहेका स्थानेश्वरका आमाबुवा र हजुरआमा ।
कान्तिपुर बाट साभार

Related posts

Leave a Comment

error: Content is protected !!