अनौठो फिल्मी समाचार रोचक समाचार समाचार 

निखिललाई ७ तलाबाट हामफाल्न लगाउने निर्देशक

कलाकार तथा निर्देशक देशभक्त खनालको आफ्नै परिचय छ । उनले ५० को हाराहारीमा टेलिसिरियल र त्यतिकै हाराहारीमा फिल्म पनि खेलेका छन् । उनले आधा दर्जन फिल्मको निर्देशन पनि गरेका छन् । खासगरी उनले निर्देशन गरेको फिल्म ‘पिँजडा’ निकै हिट थियो । नेपाली फिल्म उद्योगमा निखिललाई ७ तला माथिबाट हामफाल्न लगाउने निर्देशकको रुपमा पनि उनलाई चिनिन्छ । पिँजडाको अलावा उनले ‘अचानक’, ‘बाजी’, ‘मन मेरो मान्दैन्’, ‘सन्तान थरिथरिका’ फिल्म पनि निर्देशन गरेका छन् । ‘हारजीत’मा सानो भूमिका निर्वाह गरेर कलाकारितामा प्रवेश गरेका उनको जीवनको सबैभन्दा अविस्मरणीय फिल्म ‘झोला’ हो । कृष्ण धारावासीको कथामा आधारीत उक्त फिल्मलाई यादव भट्टराईले निर्देशन गरेका थिए । ‘झोला’मा देशभक्तले निर्वाह गरेको भूमिका निकै तारिफयोग्य छ ।

कलाकार र निर्देशकको रुपमा परिचय बनाएका देशभक्तको बारेमा संक्षिप्त जीवनी प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, उनीसँगको कुराकानीमा आधारीत संक्षिप्त परिचय ।

मेरो जन्म वि.सं २०१२ साल चैत ६ गते विराटनगर २ शंकरपुर (हाल महानगरपालिका वडा नंम्बर ३) मा भएको हो । मेरो न्वारनको नाम नाम डुण्डिराज खनाल हो । तर नागरिकतामा गणेश प्रसाद उपाध्याय खनाल छ । मेरो नाम देशभक्त हुनुको रहस्य अर्कै छ । कलेज जाने समयमा मैले थुप्रै रमाइला उपन्यास, कविता र कथाहरु पढ्थेँ। एकदिन दाईको साथीले अग्नी दिक्षा उपन्यास पढ्न सुझाए । उक्त उपन्यास देशभक्ती भावनाको थियो । उपन्यासको पावेल भन्ने पात्रले मलाई प्रभावित बनायो । देशभक्तीको भावना जगायो । त्यस्तै एकजना नेपाली पढाउने शिक्षक डा. लक्ष्मण शास्त्री थिए । उनले मलाई सधैँ देशभक्तीको प्रेरणा दिन्थे । कलेज पढ्दा ६ हजार बढि विद्यार्थी मध्य हामी दुई जना मात्रै दौरा सुरुवाल लगाएर कलेज जान्थ्यौँ । त्यो बेला नेपाली पोशाक लगाएर जाने कोहि थिएनन् । दौरा सुरुवाल लगाउनु आफैमा देशभक्ती थियो । यी यस्तै कुराले शायद मेरो मनमा देशभक्तिको भावना जन्माएको हुन सक्छ । त्यसैले म देशभक्ती कविता पनि लेख्थेँ । थाहै नपाई ६ हजार विद्यार्थीहरु माझ ‘देशभक्त’ मेरो परिचय बनेछ । म कलेज पढ्दा नाटक खेल्थेँ । कलेजको बार्षिक उत्सवमा अङ्ग्रेजी नाटक ‘मर्जेन अफ भेनिस्’ र नेपाली नाटक ‘कुन बाटो’, ‘कलाकार’, ‘रुपक’ खेलेँ । त्यसपछि आफैले लेखेको ‘गोर्खा भक्ति केन्द्र’ नामक नाटक पनि गरेँ । एकपटक मलाई नाटक खेल्दा स्टेजमा देशभक्तको नामले बोलाईयो । म छक्क परेँ । मनमनै खुशी लाग्यो । ल…म त देशभक्तको नामले चर्चित भैसके छु भन्ने लाग्यो । त्यसपछि मेरा सबै गतिविधि देशभक्तकै नाममा हुन थाले । यसरी मेरो नाम ‘देशभक्त’ भयो ।

म आठ वर्षको हुँदा राजानन्द कार्की र दुर्गा सुवेदीले (गुरु)ले मलाई नाटक सिकाउनुभयो । त्यसैले मेरो मनसपटलमा नाटक गर्नुपर्छ भन्ने सोँच आएको हुनसक्छ । त्यतिबेला हाम्रो वडामा ‘हिमकला मन्दिर’ थियो । त्यो मन्दिरले सांस्कृतिक कार्यक्रम तथा नाटक प्रदर्शन गर्दथ्यो । त्यहाँ हुने नाटकहरु म ढोकाबाट चियाएर हेर्थे । पछि ‘भानु मोरङ सांस्कृतिक समूह’ भन्ने अर्को नाटक प्रदर्शन गर्ने संस्था खुल्यो । त्यो संस्था नजकै एउटा मन्दिर थियो । मन्दिरकै परिसरभित्रको भवनमा नाटकको रिहर्सल हुन्थ्यो । र मलाई नाटक हेर्ने तिव्र ईच्छा हुन्थ्यो । म पिपलको बोटमा चढेर नाटक रिहर्सल गरेको हेर्थेँ । म नाटक सिक्न चाहान्थे । बिडम्बना, घरबाट अनुमती थिएन् । एकदिन पिपलको बोटमा बसेर नाटक हेर्न थालेको देखेर त्यहाँका आयोजकले मलाई बोलाए । त्यसपछि म पनि भित्रै गएर रिहर्सल हेर्न थालेँ ।

वि.सं २०२८ सालदेखी साथीहरुसँग मिलेर विराटनगरमै नाटक गर्न थालेँ । धेरै कवितालाई मैले नाट्य रुपान्तरण गरेर नाटक गर्यौँ । त्यसपछि हामीले एकाङ्की बनायौँ । एकाङ्की गर्नेहरुको पनि एउटा संगठन बनायौँ । त्यसपछि एकाङ्की हुँदै पुर्णाङ्की पनि बनायौँ । सबैभन्दा पहिले हामीले गुरु प्रसाद मैनालीको पुर्णाङ्की ‘छिमेकी’ गरेका थियौँ । वि.सं २०३३ सालमा हामीले मोरङबाट सहभागी भएर काठमाडौँ एकेडेमी (हालको पज्ञा प्रतिष्ठान) मा पनि नाटक देखाएका थियौँ । त्यसपछि पनि विराटनगरमा रहेर कयौँ नाटक गरेका थियौँ । मैले ‘जनता हाइस्कुल’बाट १६ वर्षको उमेरमा एसएलसी दिएको हुँ । एलएलसीपछि ‘महेन्द्र मोरङ आर्दश बहुमुखी केन्द्रिय क्याम्पस’बाट स्नातकसम्मको अध्ययन पुरा गरेँ । तर स्नाकोत्तरसम्म अध्ययन गर्ने वातावरण बनेन् ।

बुवाले पुरत्याईँ गर्नुहुन्थ्यो । म घरको कान्छो छोरो हुँ । मेरो दुई दाई र एक दिदि हुनुहुन्छ । म विराटनगरमा सरकारी जागिरे थिएँ । पछि सरकारी जागिर गर्दा गर्दा दिक्क लाग्यो । क्रियटिभी प्रयोग गर्ने ठाउँ थिएन् । त्यसैले मैले जागिर छोड्ने निर्णय गरेर काठमाडौँ आएँ । ब्यवसाय गर्छु भन्ने हेतुले जागिरबाट राजीनामा दिएर वि.सं २०४४ सालमा संञ्चय कोषको पैसा झिक्न काठमाडौँ आएँ । मेरो साथी दिपकले ‘हारजीत’ फिल्म बनाउँदै थिए । उनले मलाई फिल्म खेल्ने प्रस्ताव गरे । सानो भूमिका थियो । कलाकारसँगै असिस्टेन्ट डाइरेक्टरको रुपमा मैले काम सुरु गरेँ । त्यो बेला ३५ वर्षको थिएँ । पहिलो फिल्म पछि यस्ले राम्रो अभिनय गर्ने रहेछ भन्ने सबैले थाहा पाएछन् । एक पछि अर्को गर्दै फिल्म तथा टेलिफिल्ममा काम गरेँ । हालसम्म ५० भन्दा धेरै टेलिसिरियल खेलियो होला । त्यतिकै हाराहारीमा ठुलो पर्दाका फिल्म पनि खेलेँ ।

खासगरी नरेन्द्र श्रेष्ठले निर्देशन गरेको ’गुरुआमा’ मा गुरुको अभिनय गरेपछि म चर्चित भएको थिएँ । ’लाहुरी भैँसी’ टेलिफिल्ममा मैले एउटा निरीह व्यक्तिको भूमिका निर्वाह गरेको छु । ’दलन’ टेलिफिल्ममा गरेको दया देखाएजस्तो गर्ने शोषक पात्रको भूमिका पनि चर्चित भएको थियो। ’भाइ भाइ’ फिल्ममा मैले एउटा गरिब बाउको भुमिका गरेको छु । त्यस्तै मैले ‘पिँजडा’, ‘अचानक’, ‘बाजी’, ‘सन्तान थरिथरिका’, ‘मेरो मन मान्दैन्’, जस्ता फिल्म निर्देशन पनि गरेको छु । मेरो विहे २०३४ सालमा भयो त्यतिबेला म २२ वर्षको थिएँ । जेठी छोरी एयर होस्टेज छिन् । कान्छी छोरी पनि एम.वि.एस गर्दैछन् । एउटा छोरा छ । छोराले ‘एम.बि.बिएस’का विद्यार्थाीलाई अध्यापन गराउँछन् । अब सबै परिवार काठमाडौँमा सेटल भैसक्यौँ ।

पछिल्लोपटक मैले गरेको चर्चित फिल्म ‘झोला’ हो । ‘झोला’का लागि यादव भट्टराई जीले मलाई प्रस्ताव गर्नुभयो । भूमिका निकै चुनौतीपुर्ण थियो । ‘झोला’ सय वर्ष अघिको कथामा बन्दै थियो । फिल्मको कथासँग भिज्नका लागि हामीले कयौँ दिन गाउँमा बस्यौँ । गाउँलेहरु जसरी खान्छन् । जसरी काम गर्छन् । जसरी जसरी सुत्छन् त्यसैगरी सुत्यौँ । सुटिङ् अवधीभर खाली खुट्टा हिड्यौँ । खाली खुट्टा हिड्दा काँडाले घोचेँ । मेरा खुट्टाहरु रगताम्य भएका थिए । म मात्र होईन् ‘झोला’को सम्पूर्ण टिमले मिहिनेत गरेका थिए । मिहिनेतका साथ काम गरेपछि प्रतिफल राम्रो आयो । ‘झोला’ मेरो जीवनका लागि अविस्मरिणीय फिल्म हो ।

प्रस्तुतकर्ताः प्रेम पुन

source–gazzabkoonline. com

Related posts

Leave a Comment

error: Content is protected !!